काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन्।
बुधबार शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता गोवर्धनलाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला तथा दोसल्ला ओढाएर सम्मान गरेका हुन्।
राष्ट्रपति पौडेलले गोवर्धनसँगै प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिएको राष्ट्रपति कार्यालयले जनाएको छ। सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै देशको शीर उचों पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए।
सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो। कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो।
गोवर्धनले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक प्राप्त गरेकी थिइन्। उनलाई बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार बोलाएर बधाईंसहित शुभकामना दिएका थिए।



