आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

मानव बेचविखन दिल्ली, मुम्बइ र कलकत्ताका कोठाहरुमा मात्र सिमित छ भन्न सकिँदैन : नवीन जोशी

मानव बेचविखन दिल्ली, मुम्बइ र कलकत्ताका कोठाहरुमा मात्र सिमित छ भन्न सकिँदैन : नवीन जोशी

मानव बेचविखनका अनेक रुप छन

images
२०८१ भाद्र २२ गते, शनिवार
२०८१ भाद्र २२ गते, शनिवार
  • काठमाडौं। नवीन जोशी विगत डेढ दशकदेखि भारतको नयाँ दिल्लीमा बस्दै आएका छन्। उनी मानव बेचविखनविरुद्धका एक चर्चित नेपाली अभियन्ता हुन्। नेपालका गाउँहरुबाट भारतका विभिन्न शहर र तेस्रो मुलुक जाने क्रममा दलालबाट ठगिएका, बेचिएका वा अलपत्र पारिएकाहरुलाई जोशीको नेतृत्वको एक संस्थाले उद्धार गर्दै आइरहेको छ। जोशी सामाजिक संस्था ‘किन इन्डिया’ को निर्देशक समेत छन्। सोही संस्थामार्फत सयौंको उद्दार भइसकेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचिबिखन तथा ओसारपसारविरुद्ध उल्लेखनिय कार्य गरेबापत अठारौँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सम्मान ग्रहण गर्न नेपाल आएका बेला जोशीसँग गरिएको कुराकानीको सम्पादित अंश :

    images

    यतिबेला भारतमा मानव बेचविखनको अवस्था कस्तो छ, घट्दो कि बढ्दो छ?

    images

    दिल्लीमा बसेर हामी मानव बेचविखनविरुद्ध काम गरिरहेका छौं। दिल्लीलगायत भारतका अधिकांश सहरहरुमा बेचबिखनको अवस्था एकदमै गम्भीर छ। वर्षौंदेखि गम्भीर बन्दै आएको छ। मानव बेचविखन भनेको हामीले सुन्दै आएको चेलीबेटी बेचविखन मात्र हो। तर अहिले सबै मानिसहरु बेचनविखनमा परिरहेका छन्। कुनै लैङ्गिकताका आधारमा बेचविखनमा फरक छैन्। बालक, युवा, महिला, किशोरी जोसुकै बेचविखनको शिकारमा छन्। भारत वा भारत हुँदै तेस्रो मुलुक निर्यात भइरहेका छन्।

    विशेषगरी नेपालका कुन भेगबाट बेचविखनमा परेका व्यक्तिहरु दिल्लीमा भेटिन्छन् ? बेचबिखनको तौर-तरिका कस्तो छ?

    नेपालका नुवाकोट र सिन्धुपाल्चोक लगायतका जिल्लाबाट धेरै मानिसहरु बेचविखनमा परेको भेटिन्थ्यो। दिल्लीको जिबी रोड, कलकत्ताको सोनागाछी अथवा मुम्बइको कोठीहरुमा नेपाली युवतीहरु बेचिने गरेको सुनिन्थ्यो र भेटिन्थ्यो। तर अहिले डिजिटल युगमा धेरै परिवर्तनहरु भइरहेका छन्। यो क्षेत्रमा पनि सोहीअनुसार परिवर्तन भइरहेका छन्। कानुन संयन्त्रभन्दा दुई कदममाथि बेचबिखन भइरहेको छ। बेचबिखनन भएको कुनै पनि त्यस्तो निश्चित ठाउँ छैन। अहिले त वाट्सएपमार्फत कुनै फ्ल्याटमा बोलाएर धन्दा चलाएको पाइन्छ। फ्ल्याटमै बसेर विभिन्न ठाउँमा पठाउने काम भइरहेको छ। बेचबिखनको खेल भनेको डिमाण्ड र सप्लाइको हो। सोहीअनुसार सप्लाइ भइरहेको छ। दिल्ली, मुम्बइ र कलकत्ताका कोठाहरुमा मात्र सिमित छ भन्न सकिँदैन।

    विशेषगरी नेपालको कुन कुन नाका बेचबेखिनका लागि बढी जोखिमयुक्त लाग्छन्?

    पूर्व झापादेखि पश्चिम महेन्द्रनगरसम्मका लगभग प्रायः सबै नाकाहरु जोखिमपूण छन्। त्यहाँका नाकाहरु पनि उत्तिकै चलायमान रहन्छन्। हुन त त्यहाँ हाम्रा सुरक्षाकर्मीहरु, विभिन्न संघ-संस्थाका साथीहरुले निगरानी गरिरहनु भएको छ। तर यति हुँदा-हुँदै पनि महिला, बालबालिकाहरु भारत पुगिरहेका छन्। नाकाबाट गइरहेकै छन्। कुनै नाका जोखिममुक्त छैनन्। यसका साथै साना- साना नाकाहरुको प्रयोग गर्ने, जङ्गलको बाटो प्रयोग गर्ने, निजी गाडीहरुमा पारी कटाउने क्रम जारी नै छ। कञ्चापुरतिर बाइकहरु प्रयोग गरेर पनि नाकापार गराउने गरेको पाइन्छ। पछिल्लो पटक हामीले कोभिडपछि १९ जना बालकहरुलाई लैजाने क्रममा रेड गरेर उद्धार गरेका थियौं। उनीहरुलाई खेतबाट बोर्डर कटाइएको रहेछ। तारसमेत हटाएर बोर्डर कटाएको रहेछ। बोर्डर कटाउने तरिका सधैँ फरक-फरक हुन्छ।

    मानव बेचविखनमा प्रहरी प्रशासन, राजनीतिक दल र अन्य निकायहरुको पनि कहीँ कतै मिलेमतो भएजस्तो आशंका लाग्दैन?

    राजनीति सबै ठाँउमा जोडिएको हुन्छ। तर कुन रुपमा जोडिएको हो भन्ने कुरा बुझ्न पर्छ। दलहरु त मिडिया, व्यापारलगायत राम्रो नराम्रो सबै ठाँउमा जोडिएकै हुन्छन्। हामीलाई कुनै बेलामाथि उल्लेख गरिएका सबै ठाउँबाट धम्की आउने गर्दथ्यो तर वास्ता नगरी अगाडि बढिरहेका हुन्थ्यौं। तर ब्यूरोक्रेसी अथवा प्रहरीहरु यस्तो जघन्य अपराधमा मिलेको छ कि भन्ने चाहिँ लाग्दैन।

    सामान्यतया मानव वेचविखन देहव्यापारमा मात्र केन्द्रित हुन्छ भन्ने मान्यता छ, तपाइँहरुको अध्ययनले के देखाउँछ?

    पहिला यौन व्यवसाय गर्नको लागिमात्र लगिने गरेको जस्तो देखिन्थ्यो। तर समय धेरै परिवर्तन भइसक्यो। अहिले को मान्छे कहाँ फिट हुन्छ, त्यसलाई लगेर भीखमगाउने हो कि, लागू औषध ओसार पोसारमा लगाउने हो कि अथवा बालमजदुर गराउने हो कि भन्ने कुरा व्यक्तिलाई हेरेर निर्भर हुन्छ। दलालहरुको उद्देश्य भनेको पैसा कमाउने मात्र हो।

    तर पछिल्लो समय नेपालीहरुलाई भारतमा लगेर आफ्नो किड्नी निकाल्नलगाएर किड्नीको व्यापार पनि गराएको भन्ने समाचार आइरहेका छन्। यो सत्य हो?

    एक समय नेपालको होक्से गाँउबाट नेपालीहरुलाई कलकत्तामा लगेर किड्नी ट्रान्सप्लान्ट गर्ने कामहरु गर्न लगाएको हामीले थाहा पाएका हौं। त्यस बाहेक अन्य अंगको पनि व्यापार हुँदैछ रे भन्ने सुन्नमा आएको छ। यसमा भारत सरकार पनि संवेदनशिल छ तर यस्तो समस्या विश्वव्यापी रोगकै रुपमा छ। कम गर्न सकेको भएपनि रोक्न सकेको अवस्था छैन।

    मानव बेचविखन रोक्न भारत र नेपालका प्रहरी प्रशासनको इमान्दार सहयोग पाइरहनु भएको छ ?

    कानूनी रुपमा भारतको सरकार र प्रशासनले सहयोग गरिरहनु भएको छ। भारतमा १८ वर्षभन्दा मुनीका बालबालिकाहरुका लागि अलगै कानून र अदालत छ। त्यसो भएको हुनाले पनि सहयोग गर्दैनौ भनेर भन्नै मिल्दैन। तथापी, १८ वर्ष भन्दामाथिका व्यक्तिहरुको उद्धारमा भने केही समस्याहरु हुने गरेका छन्। उद्धार नै हुनु छैन भन्ने किसिमका कुराहरुले गर्दा व्यवहारिक समस्याहरु पनि देखिन्छन्। त्यस्तो अवस्थामा पीडित हो की होइन भनेर प्रमाणीत गर्न चाहीं प्रहरी प्रशासनले सहयोग गर्छ। नेपालमा पनि पहिलाभन्दा अहिले युवाहरु प्रहरी प्रशासन वा व्यूरोक्रेसीमा भएकाले केही सहज भएको छ। तर यति हुँदाहुँदै पनि हामीमा कानुनी अभावहरुले गर्दा समस्या पर्ने गरेको छ। किनभने कानूनी रुपमा नेपाल र भारत दुवै देशको मानव बेचबिखनको लागि कसरी काम गर्ने भनेर कुनै सम्झौता छैन। कानुन नहुँदा उद्धार गरिसकेपछि पनि स्वदेश फिर्ता गर्नको लागि त्यतिकै चुनौती भइरहेको छ। स्वदेश फर्काउने सवालमा प्रशस्त कानुनी र कागजी समस्याहरु झेलिरहनु परेको छ।

    तपाई आफूचाहीं यो क्षेत्रमा लागेको कति भयो, अहिलेसम्म कतिको उद्धार गर्नुभयो?

    मैंले काम गरेको करिब १५ वर्ष भयो। हामी अर्थात मेरो नेतृत्वको टीमले आठ सय जनाको उद्धार तथा स्वदेश फिर्ता गरिसकेका छौ । त्यसमा ९९ प्रतिशत नेपाली अरु भारतीय थिए। हाम्रा सहयोगी संस्थाहरु छन्। एनसीआरसी जस्ता संस्थाहरु छन्। शक्ति समूह जस्ता धेरै संस्थाहरु छन्। उहाँहरुमार्फत उद्धार भएकाहरुलाई सुधार गृह वा पुनःस्थापना केन्द्र लैजाने, तालिम दिने काम गरिरहेका छौं। उनीहरुलाई सीप सिकाउने र जागिर दिने काम पनि भइरहेका छन्। उनीहरु फेरि पीडित नबनोस भन्नका लागि संघसंस्थाहरुसँग सहकार्यका काम गरिरहेका हुन्छौ। आवश्यक परे अनुसार पढ्न मन भएकाहरुलाई पढाउने काम पनि हुने गरेको छ। त्यसमा नेपाल सरकारको पनि भूमिका रहन्छ। सरकारका आफ्नै कार्यक्रमहरु पनि छन्।

    तपाईँहरुको अध्ययनले भारत वा तेस्रो मुलुक मानव बेचविखनको प्रक्रिया चाहिँ कस्तो हुँदोरहेछ, दलालहरुले कति कमाउँछन्?

    मानव बेचविखनका अनेक रुप छन्। इराक, कुबेतलगायत खाडी मुलुक पठाउनेको छुट्टै संजाल र प्रक्रियाहरु छन्। त्यहाँ लगेर यौन व्यवसायहरुमा लगाउने गर्छन्। त्यहाँ बसेको मानिसले कराडौं कमाइ गर्छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बयान लिने क्रममा कति ठाँउमा जाने कति पैसा लिने भन्ने कुरा सोधेर हिसाब लगाउँदा एक जना बहिनी (युवती) बाट एक महिनामा दुई करोड रुपैयाँ कमाउने अनुमान गरिएको छ। त्यस्ता बहिनीहरु एक पटकमा १०-१२ जना सम्म हुन्छन्। भनेको दलालको आम्दानी आफैं हिसाब गर्नुहोस्।

    तपाईँको कुराकानीको सार मानव बेचविखन बढिरहेको भन्ने रह्यो । तर नेपालमा पहिले जस्तो गरिबी र अशिक्षा छैन । त्यस कारणले बेचबिखन घटेको छ पनि भनिन्छ नि?

    पहिलाका रिर्पोटहरु पढ्दा वा त्यो बेलाको गरिबी, अशिक्षाको कारणले बढी बेचबिखनमा पर्ने गरेका थिए। तर अहिले धेरै आकांक्षाहरु बोकेको कारणले प्रलोभनमा बढी परेको जस्तो देखिन्छ। २०१६, १७ र १८ मा वैदेशिक रोजगारको विरुद्धमा क्याम्पेन नै चलाएका थियौं। जसमा सुरुमा १६ जना उद्धार गरेका थियौं। त्यसपछि पहाडजंगबाट ३९ जना साथै क्रमशः दर्जनौं व्यक्तिहरुको उद्धार गरेका थियौं। हुनत अहिले भारतलाई प्रयोग गरेर तेस्रो मुलुकमा महिलाहरुलाई कम नै पठाउने गरेको पाइन्छ। मानव बेचविखन रोक्ने मुख्य जिम्मेवारी भनेको सरकारको हो। हामीले सरकारलाई सहयोग गरेका छौ। सरकारले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएर दुवै देशबीच सम्झौता गर्नुपर्छ। यसले उद्धार गरेका र मुद्दा परेका प्रतिवादीहरुलाई ल्याउन सहजीकरण हुन्छ। हुन त यो काम एकदमै जोखिमपूणर् पनि छ। काममा खतरा एकदमै छ। चुनौतीहरु पनि धेरै नै छन। मानव बेचबिखनविरुद्धको अभियान भनेको जबसम्म मानिस आफै अथवा आफ्नै घरको मानिस बेचिदैँन तबसम्म मान्छेलाई चासो लाग्दैँन। बेचविखनविरुद्ध उत्रिने भनेको आफूलाई परिसकेपछि मात्र हो। तर यो गलत हो। यसमा चासो राख्नुपर्छ। घर-घरबाट हरेक  व्यक्तिले यसबारे सोच्ने हो भने घटना धेरै कम हुन सक्ने सम्भावना छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend