काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्ने भएका छन्।
१५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केहीदिनपछि सभापति थापाले पहिलो पटक पत्रकार सम्मेलनमार्फत राष्ट्रिय तथा आन्तरिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन्।
कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा विशेष सम्बोधनको कार्यक्रम आयोजना गरिएको छ। थापाले सम्वोधन गर्नु अघि प्रमुख पदाधिकारीहरुसँग छलफल पनि गर्ने जनाइएको छ।
पार्टीभित्र १५औँ महाधिवेशन सम्पन्न भएपछिको पछिल्लो सांगठनिक अवस्था, केन्द्रीय कार्यसमितिको तात्कालिक कार्ययोजना तथा देशको विद्यमान आर्थिक र राजनीतिक परिवेशमा कांग्रेसको भूमिकाबारे सभापति थापाले आफ्नो दृष्टिकोण प्रष्ट पार्ने बुझिएको छ।



