काठमाडौँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ।
मंगलबार बिहानै दुई हेलिकप्टर अवतरणका क्रममा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका अनुसार अनुसार आज बिहान ८ः११ मिनेटमा डाइनास्टिक एयर र फिस्टेल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन्। दुर्घटनामा हेलिकप्टरमा सवार एक विदेशी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले मृतक विदेशी नागरिकको पहिचान खुल्न बाँकी रहेकोे जानकारी दिए। दुर्घटनामा अर्का एक जना यात्रु घाइते भएका छन्।
घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला ल्याइएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था र दुर्घटनामा परेको हेलिकप्टरमा सवार अन्य यात्रु तथा चालक दलका सदस्यको विवरण भने खुल्न बाँकी छ।
हिमाली क्षेत्रको फेरुचेमा भएको उक्त दुर्घटनाको कारणबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान तथा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।



