काठमाडौं। शिक्षक सेवा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ मा माध्यमिक तहको अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) का लागि कात्तिक महिनाभित्र विज्ञापन गर्ने भएको छ। त्यस्तै, निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि आगामी मङ्सिर महिनामा विज्ञापन गर्ने तयारी गरेको छ।
आयोगका अनुसार अघिल्लो आर्थिक वर्षमा निम्न माध्यमिक तहका ३५ हजार २६८ र माध्यमिक तहका २३ हजार ५८९ जनालाई अध्यापन अनुमति पत्र प्रदान गरिएको थियो।
सो आर्थिक वर्षमा निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा १ लाख १२ हजार ५७५ जना र माध्यमिक तहको परीक्षामा ४२ हजार ३२३ जना परीक्षार्थी सहभागी भएका थिए।
आयोगले २०६० सालदेखि २०८२ सालसम्म अध्यापन अनुमति पत्रका लागि ४४ वटा विज्ञापनमार्फत कुल ८ लाख ९४ हजार १५९ वटा लाइसेन्स वितरण गरिसकेको छ।
आयोगको तथ्यांकअनुसार हालसम्म प्राथमिक तहमा २ लाख २ हजार ७३९, निम्न माध्यमिक तहमा ४ लाख ६२ हजार ४९१ र माध्यमिक तहमा २ लाख २९ हजार १ वटा अध्यापन अनुमति पत्र वितरण गरिएको छ।
यससँगै चालु आर्थिक वर्षमा हुने नयाँ विज्ञापनबाट शिक्षक लाइसेन्स प्राप्त गर्न चाहने हजारौँ परीक्षार्थीलाई अवसर मिल्ने अपेक्षा गरिएको छ।



