काठमाडौं। नेपालले कोप–३१ को विश्व मञ्चमा हिमाल तथा पहाडी क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै विभिन्न देशको समर्थन जुटाएको छ।
नेपालले आफ्नो मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न भुटान, किर्गिजस्तान, जी–७७ तथा चीन, कोलम्बियालगायतका देश तथा समूहको समर्थन प्राप्त गरेको हो।
नेपालको प्रतिनिधिमण्डलले गए राति ३ बजेसम्म निरन्तर छलफल र कूटनीतिक प्रयास गर्दै हिमाल तथा पहाडी क्षेत्रका समस्या र सवाललाई सबै देशको साझा चासोको विषयका रूपमा प्रस्तुत गरेको जनाएको छ।
यस विषयमा नेपाल एक्लै नभई समान भौगोलिक तथा वातावरणीय चुनौती सामना गरिरहेका विभिन्न देशको साथ र समर्थन जुटाउन सफल भएको प्रतिनिधिमण्डलमा सहभागी प्रतिनिधि सभा सदस्य सागर ढकालको भनाइ छ।

हाल टर्कीमा जारी विश्व मञ्चमा उठाइएको यस मुद्दालाई आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढाउने नेपालको तयारी छ।
यसपछि इथियोपियामा हुने अन्तर्राष्ट्रिय मञ्चमा नेपालसहित नेपालजस्तै हिमाल तथा पहाडले भरिएका देशहरूको मुद्दालाई अझ सशक्त रूपमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ।
त्यसका लागि करिब एक वर्षअघिदेखि नै तयारी गरी अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने र इथियोपियामा ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्य रहेको जनाइएको छ।
यसैबीच, नेपालले आगामी दिनमा यस्तै अन्तर्राष्ट्रिय विश्व मञ्चको आयोजना गर्ने सोचसमेत अघि सारेको छ। यसले हिमाल तथा पहाडी क्षेत्रका साझा समस्या, जलवायु परिवर्तनका असर र सम्बन्धित देशका सरोकारलाई विश्व समुदायमाझ थप प्रभावकारी रूपमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
कोप–३१ मा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल, स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता लगायत नेपाली प्रतिनिधिमण्डल टर्कीमा पुगेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारिरहेको प्रभाव र स्वास्थ्य प्रणालीको उत्थानशीलतासम्बन्धी विषयमा टर्कीको अन्टाल्यामा नोभेम्बर ९ मा (आज) हुने कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै छिन्।




