आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

लुम्बिनीमा नेपालमै पहिलो बंकरसहितको क्यान्सर अस्पताल बन्ने

लुम्बिनीमा नेपालमै पहिलो बंकरसहितको क्यान्सर अस्पताल बन्ने

images
२०८३ कार्तिक १५ गते, आइतवार
२०८३ कार्तिक १५ गते, आइतवार
  • रुपन्देही। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ अञ्चलपुरमा निर्माण हुने तय भएको क्यान्सर अस्पताल बंकरसहितको हुने भएको छ। 

    images

    लुम्बिनी क्यान्सर अस्पताल प्रालिमार्फत निर्माण हुने अस्पतालमा करिब तीन अर्ब ८२ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ। प्रारम्भिक अनुमान भने साँढे चार करोड बढी थियो। सो अस्पताल बंकरसहितको हुँदा नेपालमा नै पहिलो हुनेछ। सो अस्पताल करिब तीन बिघा क्षेत्रफलमा निर्माण हुने छ।

    images

    अस्पतालको भवन १९ हजार ६१६.०४ वर्गमिटर क्षेत्रफलमा फैलिने प्रस्ताव छ भने अस्पताल भवनको क्षेत्रफल एक हजार ४५८.८८ वर्गमिटर रहनेछ भने ९०० वर्गमिटर क्षेत्रफलमा बंकर संरचनासमेत निर्माण गरिनेछ।

    कुल २०० शय्याको निर्माण लक्ष्य राखिएको अस्पतालको करिब ३५ मिटर अग्लो भवनमा बेसमेन्ट र भुइँतलासहित आठ तलाको संरचना प्रस्तावित छ।

    ईआईए प्रतिवेदन स्वीकृत

    लुम्बिनी क्यान्सर अस्पताल निर्माणको प्रक्रिया अन्तर्गत अस्पतालको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ। 

    कृषि, वन तथा वातावरण मन्त्रालयको २०८३ असोज १२ गतेको मन्त्रीस्तरीय निर्णयबाट सो अस्पतालको ईआईए प्रतिवेदन स्वीकृत भएको थियो।

    ईआईए प्रतिवेदन स्वीकृत भएसँगै निर्माण प्रक्रिया अघि बढाइने योजना बनेको अस्पतालका सञ्चालक तथा लगानीकर्ता कमल भण्डारीले जानकारी दिए। उनका अनुसार भौतिक संरचना निर्माण सम्पन्न भएपछि इजाजतपत्र प्राप्त गरेको तीन वर्षभित्र अस्पताल सञ्चालनमा ल्याइने लक्ष्य राखिएको छ।

    केके हुनेछन्?

    अस्पताल निर्माण सम्पन्न हुँदा अस्पतालमा प्रयोगशाला, रेडियोलोजी, अल्ट्रासाउन्ड, प्याथोलोजी, शल्यक्रिया, सघन उपचार कक्ष (आईसीयू), बहिरङ्ग सेवा (ओपीडी), २४ घण्टे आकस्मिक सेवा, किमोथेरापी र रेडियोथेरापीलगायत सेवा सञ्चालनमा ल्याइने छ।

    यसैगरी बोनम्यारो प्रत्यारोपण तथा क्यान्सरसँग सम्बन्धित अन्य विशिष्टीकृत उपचार सेवा पनि उपलब्ध गराईने योजना रहेको अस्पतालका सञ्चालक भण्डारीको भनाइ छ।

    कुन तलामा के?

    भण्डारीका अनुसार भवनको बेसमेन्टमा पार्किङ, क्याफे तथा क्यान्टिन, भूमिगत पानी ट्याङ्की, जेनेरेटर कक्ष र वातानुकूलन प्रणाली रहनेछन्।

    यस्तै, भुइँतलामा आकस्मिक सेवा, रेडियोलोजी, फार्मेसी र २४ शय्याको व्यवस्था गरिनेछ। पहिलो तलामा प्रयोगशाला, रक्तसम्बन्धी सेवा, क्यान्सर उपचारको बहिरङ्ग सेवा र ३४ शय्या रहनेछन्।

    दोस्रो तलामा शल्यक्रिया कक्ष, शल्यक्रियापछिको उपचार कक्ष, केन्द्रीय उपकरण शुद्धीकरण सेवा र पेट स्क्यान मेसिन हुनेछ।

    यसैगरी, चौथो तलामा शल्यचिकित्सा वार्ड, आईसीयू, क्रिटिकल केयर र एचडीयूसहित ५० शय्याको व्यवस्था प्रस्ताव गरिएको छ।

    पाँचौँ तलामा प्रशामक उपचार तथा बाल क्यान्सर उपचार सेवासहित २५ शय्या रहनेछन् भने अन्य तलामा ज्येष्ठ नागरिकका लागि डे केयर सेवा, प्रशासनिक कक्ष, बैठक तथा सम्मेलन कक्ष, योग र ध्यान, उपचार तथा पुनःस्थापना सेवा र खुला छतको व्यवस्था हुनेछ।

    लुम्बिनी क्यान्सर अस्पताललाई अपाङ्गतामैत्री र बिरामीमैत्री बनाउने योजना संचालकको छ। जहाँ सातवटा लिफ्ट, ह्विलचेयरमैत्री संरचना, अपाङ्गतामैत्री शौचालय र एम्बुलेन्स सेवाको व्यवस्था प्रस्तावित छन्।

    कतिले पाउनेछन् रोजगारी?

    संचालक भण्डारीका अनुसार लुम्बिनी क्यान्सर अस्पताल सञ्चालनमा आउँदा २८५ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान छ। अस्पतालमा २२० जना प्राविधिक तथा स्वास्थ्यकर्मी र ६५ जना प्रशासनिक एवं अन्य अप्राविधिक कर्मचारी आवश्यक हुने उनी बताउँछन्।

    अस्पताल सञ्चालनमा आएपछि क्यान्सर उपचारका लागि लुम्बिनी र गण्डकी प्रदेशका नागरिकलाई काठमाडौं, चितवन तथा भारत पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

    यस्तै नियमित किमोथेरापी, रेडियोथेरापी तथा अन्य उपचारका लागि टाढा जानुपर्ने बिरामी र तिनका परिवारलाई यातायात, बसोबास तथा खानपानमा लाग्ने खर्च घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend