काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले देशभरको एक साताको विभिन्न स्वास्थ्य समस्या तथा रोगको अवस्था सार्वजनिक गरेको छ।
सार्वजनिक विवरण अनुसार देशभर एक साताको अवधिमा विभिन्न स्वास्थ्य समस्या तथा रोगका १ हजार ७३५ जना बिरामी भेटिएका छन्।
ईडीसीडीको सर्भिलेन्स बुलेटिनअनुसार सन् २०२६ नोभेम्बर २ देखि ८ सम्मको ४५औँ इपिडिमियोलोजिकल सातामा उक्त सङ्ख्यामा बिरामी भेटिएका हुन्।
बुलेटिनअनुसार उक्त अवधिमा लक्षणमा आधारित स्वास्थ्य समस्या (सिन्ड्रोम) अन्तर्गत १ हजार ४२३ जना र विभिन्न रोगका ३१२ जना बिरामी भेटिएका छन्।
लक्षणका आधारमा सबैभन्दा बढी ६९६ जनामा इन्फ्लुएन्जा लाइक इल्नेस (फ्लुजस्तो लक्षण) देखिएको छ। यस्तै, ३५३ जनामा एक्युट ग्यास्ट्रोइन्टेराइटिस (तीव्र झाडापखाला), ३१२ जनामा गम्भीर श्वासप्रश्वास सङ्क्रमण, ५६ जनामा ज्वरोसहित शरीरमा बिमिरा आउने समस्या र ६ जनामा जन्डिससहितको ज्वरो देखिएको छ। अन्य तीन प्रकारका स्वास्थ्य समस्यामा ३३ जना बिरामी भेटिएका छन्।
त्यसैगरी, रोगका आधारमा सबैभन्दा बढी १६१ जनामा स्क्रब टाइफस पुष्टि भएको छ। डेंगीका १२४, इन्फ्लुएन्जाका २६ र कालाजारका एक जना बिरामी भेटिएका छन्।
महाशाखाको तथ्याङ्कअनुसार पछिल्ला नौ साताको विवरण हेर्दा इन्फ्लुएन्जा लाइक इल्नेसका बिरामीको सङ्ख्या उतारचढावपूर्ण देखिएको छ। ४१औँ सातामा सबैभन्दा बढी ९६२ जना पुगेको उक्त सङ्ख्या ४५औँ सातामा घटेर ६९६ मा झरेको छ।
त्यस्तै, एक्युट ग्यास्ट्रोइन्टेराइटिसका बिरामी ४१औँ सातामा ६४१ जना पुगेका थिए भने ४५औँ सातामा ३५३ जना भेटिएका छन्।
महाशाखाले नियमित रोग निगरानी प्रणालीमार्फत सङ्कलन गरेको तथ्याङ्कले पछिल्लो साता फ्लुजस्तो लक्षण, झाडापखाला, श्वासप्रश्वास सङ्क्रमण, स्क्रब टाइफस र डेंगीलगायतका स्वास्थ्य समस्या जनस्वास्थ्यको प्रमुख चुनौतीका रूपमा रहेको देखाएको छ।






