काठमाडौं। जलवायु परिवर्तनसम्बन्धी नीति तथा कार्ययोजनाको केन्द्रमा स्वास्थ्यलाई राख्नुपर्नेमा जोड दिँदै नेपालले संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप ३१ मा विशेष छलफल कार्यक्रम आयोजना गरेको छ।
टर्कीको अन्टाल्यामा आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विश्व स्वास्थ्य संगठन (WHO) र इपास (IPAS) सँगको सहकार्यमा ‘जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्य : विश्वव्यापी दृष्टिकोण’ विषयक साइड इभेन्ट आयोजना गरेको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. ज्ञानेन्द्र गोङ्गल, पाकिस्तानस्थित दस्तक फाउन्डेसनकी संस्थापक तथा कार्यकारी निर्देशक हिरा अमजद र नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाले छलफलमा सहभागिता जनाएका थिए।
कार्यक्रममा जलवायु परिवर्तनका कारण उत्पन्न विपद्ले जनजीवन, जीविकोपार्जन तथा अत्यावश्यक स्वास्थ्य सेवामा पार्ने प्रभावबारे चर्चा गरिएको थियो।
विशेषगरी रसुवामा गएको विनाशकारी आकस्मिक बाढीको अनुभव प्रस्तुत गर्दै जलवायुसम्बन्धी विपद्का बेला स्वास्थ्य सेवा पहुँचमा देखिने चुनौती र त्यसले नागरिकको जीवनमा पार्ने असरबारे प्रकाश पारिएको थियो।
छलफलका क्रममा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा विपद् व्यवस्थापनका नीति र कार्ययोजना निर्माण गर्दा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
जलवायु परिवर्तन केवल वातावरणीय चुनौती मात्र नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले स्वास्थ्य सुरक्षालाई जलवायु कार्ययोजनाको अभिन्न अंग बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।




