काठमाडौँ। सरकारले चिकित्सा शिक्षा सुधारको माग राख्दै सत्याग्रहमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता समिति गठन गरेको छ।
सरकारले डा. केसीसँग वार्ता गर्न भन्दै बुधबार शिक्षा मन्त्रालयको उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा ४ सदस्यीय वार्ता समिति गठन गरेको हो।
समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव र चिकित्सा शिक्षा आयोगका सदस्य सचिव तथा शिक्षा मन्त्रालय उपसचिव मधुप्रसाद घिमिरे प्रतिनिधि सदस्य तोकिएका छन्।
इलाम पुगेर २५औँ सत्याग्रहमा सुरु गरेका डा. केसीलाई स्वास्थ्य अवस्था बिग्रदै गएपछि गत सोमबार इलाम जिल्ला अस्पतालबाट काठमाडौं ल्याइएको थियो।
नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार सुरु गरिएको थियो।
इलामको नारायण मन्दिरमा २५औँ सत्याग्रहमा बसेका डा. केसीको सत्याग्रहको तेस्रो दिनमै स्वास्थ्य बिग्रिएपछि गत शनिबार साँझ इलाम जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।
डा. केसीले चिकित्सा शिक्षा आयोगका निर्णयमा स्वार्थको द्वन्द्व रहेको प्रश्न उठाउँदै विवादित निर्णयहरू खारेज गर्न माग गरेका छन्। यस्तै उनले आफुसँग विगतमा सरकारले गरेका सहमतिको पालना गर्न पनि सरकारसँग माग गरेका छन्।



