नुवाकोट। नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले नुवाकोट जिल्लाका तीनवटा स्वास्थ्य चौकीमा सञ्चालित प्रसूति केन्द्र (Birthing Centre) का लागि आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरू हस्तान्तरण गरेको छ।
जिल्ला शाखाले विदुर नगरपालिका वडा नं. २ स्थित नुवाकोट स्वास्थ्य चौकी, विदुर नगरपालिका वडा नं. ३ स्थित खड्कभञ्ज्याङ स्वास्थ्य चौकी र बेलकोटगढी नगरपालिका वडा नं. ७ स्थित रातमाटे स्वास्थ्य चौकीका प्रसूति केन्द्रलाई लक्षित गरी उक्त सामग्रीहरू उपलब्ध गराएको हो।
प्रसूति सेवाको गुणस्तर अभिवृद्धि गर्ने, सुरक्षित मातृत्व सेवालाई थप प्रभावकारी बनाउने तथा स्थानीय स्तरमै आधारभूत प्रसूति सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो।
प्रदान गरिएका सामग्रीहरूमा स्ट्यान्डर्ड डेलिभरी सेट, एपिसियोटोमी सेट, पेरिनियल/भजाइनल सेट, अटोक्लेभ मेसिन, इन्स्ट्रुमेन्ट ट्रली, प्रसूति टेबल, फुटस्टेप, परीक्षणका लागि आवश्यक प्रकाश उपकरण, नवजात शिशुको पुनर्जीवनका लागि रेडियन्ट वार्मरसहितको उपकरण, अम्बु ब्याग, डिजिटल तौल मेसिन, डिजिटल तथा भित्ते थर्मोमिटर, फिटल डप्लर, सक्सन मेसिन, आईभी स्ट्यान्ड र रक्तचाप मापन गर्ने उपकरणलगायतका सामग्रीहरू रहेका छन्।
यी स्वास्थ्य सामग्री तथा उपकरणहरूको उपलब्धताले प्रसूति केन्द्रहरूको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन, गर्भवती तथा सुत्केरी महिलालाई सुरक्षित प्रसूति सेवा प्रदान गर्न र जन्मिने नवजात शिशुको प्रारम्भिक स्वास्थ्य हेरचाहमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले विपद् प्रतिकार्यसँगै स्वास्थ्य तथा मानवीय सेवाको सुदृढीकरणलाई प्राथमिकता दिँदै स्थानीय स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि र समुदायको स्वास्थ्य सुरक्षामा निरन्तर सहयोग गर्दै आएको छ।
सुरक्षित मातृत्व, गुणस्तरीय स्वास्थ्य सेवा र स्वस्थ समुदाय निर्माणमा नेपाल रेडक्रस सोसाइटीको यो सहयोग महत्वपूर्ण योगदान बन्ने विश्वास लिइएको छ।





