आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

नर्सहरूको क्षमता अभिवृद्धिका लागि ‘स्टोमा केयर’ सम्बन्धी व्यावहारिक प्रशिक्षण

नर्सहरूको क्षमता अभिवृद्धिका लागि ‘स्टोमा केयर’ सम्बन्धी व्यावहारिक प्रशिक्षण

images
२०८३ कार्तिक २३ गते, सोमवार
२०८३ कार्तिक २३ गते, सोमवार
  • काठमाडौं। नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले नर्सिङ जनशक्तिका क्षमता अभिबृद्धी तालिम संचालन गरेको छ।

    images

    नर्सिङ सेवाको गुणस्तर अभिवृद्धि, व्यावसायिक दक्षता विकास तथा बिरामीलाई सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालले निरन्तर व्यावसायिक विकास (Continuing Professional Development – CPD) कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    images

    अस्पतालको क्लिनिकल नर्सिङ विभागले विगत तीन वर्षदेखि नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको हो। यसैक्रममा नर्सिङ कर्मचारीहरूका लागि ‘समग्र स्टोमा केयर’ (Comprehensive Stoma Care) सम्बन्धी व्यावहारिक प्रशिक्षण दिइएकाे छ।

    प्रशिक्षणमा कोलोस्टोमी (Colostomy), इलियोस्टोमी (Ileostomy) र युरोस्टोमी (Urostomy) भएका बिरामीको हेरचाह, स्टोमाको सरसफाइ, नियमित परीक्षण, स्टोमा ब्यागको प्रयोग तथा परिवर्तन गर्ने विधि, ब्याग खाली गर्ने सुरक्षित तरिका र सम्भावित जटिलता रोकथामका विषयमा प्रशिक्षण दिइएको थियो 

    अस्पतालको पोस्ट–अपरेटिभ विभागमा कार्यरत नर्सिङ अफिसर रमा तिवारीले प्रशिक्षणको सहजीकरण गरेकी थिइन्। उनले सैद्धान्तिक जानकारीसँगै प्रत्यक्ष व्यावहारिक प्रदर्शनमार्फत नर्सिङ कर्मचारीहरूलाई स्टोमा हेरचाहका आधुनिक तथा प्रभावकारी विधिबारे जानकारी गराएकी थिइन्।

    प्रशिक्षणको अर्को महत्वपूर्ण पक्ष अन्तर्राष्ट्रियस्तरमा प्रयोग भइरहेका आधुनिक स्टोमा ब्याग तथा हेरचाहका नवीनतम सामग्रीबारे जानकारी प्रदान गर्नु रहेको थियो। नेपालमा अझै तुलनात्मक रूपमा कम परिचित तथा सीमित रूपमा उपलब्ध यस्ता सामग्रीको प्रयोग र उपयोगिताबारे समेत सहभागीहरूलाई जानकारी गराइएको थियो।

    कार्यक्रमले नर्सिङ कर्मचारीहरूलाई नयाँ प्रविधि तथा उपचार सामग्रीबारे ज्ञान हासिल गर्न, व्यावहारिक सीप विकास गर्न र स्टोमा भएका बिरामीको उचित हेरचाहमा थप आत्मविश्वास प्राप्त गर्न महत्वपूर्ण सहयोग पुर्‍याएको कलेजले जनाएकाे छ।

    नेपाल मेडिकल कलेजले बिरामीको उपचारलाई प्रभावकारी बनाउने मात्र नभई स्वास्थ्य सेवामा संलग्न जनशक्तिको ज्ञान, सीप र क्षमता अभिवृद्धिलाई समेत प्राथमिकतामा राख्दै आएको छ। क्लिनिकल नर्सिङ विभागको CPD कार्यक्रमले नर्सिङ सेवामा व्यावसायिक उत्कृष्टता, बिरामीको सुरक्षा र गुणस्तरीय स्वास्थ्य सेवाप्रतिको संस्थागत प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

    ‘उत्कृष्ट सिकाइ, दक्ष सीप र गुणस्तरीय नर्सिङ सेवा’ भन्ने मान्यताका साथ कलेजले आगामी दिनमा पनि यस्ता व्यावहारिक तथा सीपमूलक प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend