आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस

images
२०८३ कार्तिक २९ गते, आइतवार
२०८३ कार्तिक २९ गते, आइतवार
  • काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर भएको छ।

    images

    महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो सङ्ख्यामा मानिसको चहलपहलले बिग्रिएको दुबो पुनःरोपण तथा संरक्षण गर्न पार्टीका नेता–कार्यकर्ता खुलामञ्चमा जुटेका छन्।

    images

    महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेपछि त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै आलोचना भएको थियो। पार्टीले कार्यक्रमअघि नै सार्वजनिक स्थललाई प्रयोगपछि पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको थियो।

    सोही प्रतिबद्धताअनुसार क्षतिग्रस्त क्षेत्रमा नयाँ दुबो रोप्ने, माटो मिलाउने र हरियाली पुनःस्थापना गर्ने काम सुरु गरिएको हो।

    आइतबार नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भए। क्षति पुगेका स्थानमा चितवनबाट ल्याइएको दुबो रोपिएको छ।

    पार्टीका अनुसार पछिल्लो एक महिनादेखि नियमित सिँचाइ, मलखाद र मर्मतसम्भारको कामसमेत भइरहेको छ।

    नेपाली कांग्रेस काठमाडौँ महानगर समितिका सभापति सुसन वैद्यले महाधिवेशनका क्रममा भएको क्षतिलाई पार्टीले आफ्नो दायित्वका रूपमा लिएको बताए।

    कार्यक्रमअघि नै खुलामञ्च जुन अवस्थामा लिइएको हो त्यही अवस्थामा फर्काएर हस्तान्तरण गर्ने प्रतिबद्धता गरिएको उनले स्मरण गरे।

    “महाधिवेशन स्थलकाे रूपमा हामीले खुल्ला मञ्च प्रयोग गर्दा बर्षाका कारण अनुमान गरेभन्दा केही बढी क्षति भएको छ। दुई दिन परेको भीषण वर्षा र हजारौँ मानिसको आवतजावतका कारण दुबो बिग्रिएको हो। त्यसलाई पुरानै अवस्थामा फर्काउनु हाम्रो जिम्मेवारी हो,” उनले भ्ने।

    उनले खुलामञ्च कुनै एउटा राजनीतिक दल, महानगरपालिका वा सरकारको मात्र नभई तीन करोड नेपालीको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण सबैको दायित्व भएको बताए। सार्वजनिक सम्पत्तिको संरक्षण राजनीतिक मुद्दा मात्र नभई राजनीतिक दलको नैतिक जिम्मेवारीसमेत भएको उनको भनाइ छ।

    कांग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले टुँडिखेलको ऐतिहासिक पहिचान, प्राकृतिक सौन्दर्य र महत्व जोगाउनु पार्टीको साझा दायित्व भएको बताइन्। महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावतका कारण क्षति पुगेको देखेपछि त्यसलाई सुधार्न पार्टी आफैँ सक्रिय भएको उनको भनाइ छ।

    “यो ऐतिहासिक धरोहर हो। काठमाडौँको मुटुमा रहेको टुँडिखेलको आफ्नै महत्व छ। यसको अस्तित्व र सौन्दर्य जोगाउनु हाम्रो पनि कर्तव्य हो। कसैले भनेर मात्र होइन, आफ्नो जिम्मेवारी सम्झेर हामी यहाँ आएका हौँ,” गौतमले भनिन्।

    प्रधानमन्त्रीले महाधिवेशनपछि सामाजिक सञ्जालमा टुँडिखेलको क्षतिलाई लिएर टिप्पणी गरेको प्रसङ्गमा सहमहामन्त्री गौतमले त्यसलाई आफ्नो अभियानको कारण नभएको स्पष्ट पारिन्।

    “प्रधानमन्त्रीले के भन्नुभयो भन्नेभन्दा पनि यो स्थानलाई जोगाउनु हाम्रो आफ्नै जिम्मेवारी हो भन्ने ठानेर हामी आएका हौँ,” उनले भनिन्।

    कांग्रेसका केन्द्रीय सदस्य जनक चट्टौतले महाधिवेशनका क्रममा संरचना निर्माण र ठूला सवारीसाधनको आवतजावतका कारण दुबोलगायतका संरचनामा क्षति पुगेको बताए।

    महानगरपालिकाबाट क्षतिको विषय उठेपछि पार्टीले बिग्रिएको क्षेत्र पुनःस्थापना गर्ने प्रतिबद्धता जनाएको र सोहीअनुसार काम अघि बढाइएको उनले उल्लेख गरे।

    ३० दिनमा पुरानै अवस्थामा फर्काउने लक्ष्य

    दुबो पुनःरोपण तथा मर्मतसम्भारको प्राविधिक जिम्मेवारी पाएको माउन्ट एभरेस्ट स्पोर्ट्सका थमन भूसालका अनुसार अहिले प्रारम्भिक चरणको रोपण कार्य भइरहेको छ। रोपिएको दुबोलाई आवश्यकताअनुसार थिच्ने, माटो मिलाउने, खनजोत गर्ने र सिँचाइ तथा मलखादको व्यवस्था गरेर अन्तिम रूप दिइने छ।

    उनका अनुसार अहिलेको मौसममा दुबोलाई पूर्ण रूपमा स्थापित गरी पुरानै अवस्थामा फर्काउन न्यूनतम ३० दिन लाग्ने अनुमान छ  काम सम्पन्न भएपछि वास्तविक लागत विवरणसमेत तयार गरिने उनले बताए।

    खुलामञ्च खुला हुनुपर्ने बहस

    दुबो पुनःरोपणसँगै कांग्रेसका नेताहरूले खुलामञ्चको दीर्घकालीन संरक्षण र सर्वसाधारणको पहुँचको विषयसमेत उठाएका छन्। महानगर सभापति वैद्यले खुलामञ्चलाई घेराबन्दी गरेर सर्वसाधारणको पहुँच सीमित गर्नु यसको मूल मर्मविपरीत हुने बताए।

    उनले विगतमा खुलामञ्चका सटर हटाउने, टुँडिखेललाई खुला गर्ने तथा भूमिगत पार्किङ निर्माण गर्ने योजनाविरुद्ध आफूहरूले आन्दोलन गरेको स्मरण पनि गरे।

    खुलामञ्च काठमाडौँको ऐतिहासिक गहना मात्र नभई नागरिकले सहज रूपमा उपयोग गर्न पाउनुपर्ने सहरी सार्वजनिक सुविधा भएको उनको भनाइ छ।

    “खुलामञ्चको आत्मा भनेको नागरिकले स्वतन्त्र रूपमा उपयोग गर्न पाउनु हो। यसलाई जेलजस्तो बन्द गरेर सर्वसाधारणलाई प्रवेश निषेध गर्नु यसको मर्म होइन,” उनले भने।

    सार्वजनिक स्थलमा फोहोर नगर्ने, हरियाली नष्ट हुन नदिने र साझा सम्पत्तिको संरक्षण गर्ने संस्कार विकास गर्नुपर्नेमा नेताहरूले जोड दिएका छन्।

    राजनीतिक दलले आयोजना गर्ने ठूला कार्यक्रमपछि सार्वजनिक सम्पत्तिमा पुग्ने क्षतिको जिम्मेवारी सम्बन्धित आयोजकले लिनुपर्ने बहसका बीच कांग्रेसले थालेको पुनःस्थापना अभियानले आयोजकको जवाफदेहिताको सन्देश दिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend