काठमाडौँ। भारतीय रेलवेले नेपालको जनकपुर र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न अनुमति दिएको छ।
निर्धारित तालिकाअनुसार रेल सेवा हरेक शनिबार जनकपुरबाट र सोमबार अयोध्याबाट सञ्चालन हुनेछ। यस सेवाले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
रेल सेवा सञ्चालनको औपचारिक उद्घाटन आगामी नोभेम्बर २३ मा भारतको अयोध्यामा हुनेछ। उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भिडियो कन्फरेन्समार्फत सहभागी हुनेछन्। दुबै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर रेल सेवाको उद्घाटन गर्नेछन्।
यस्तै उद्घाटन समारोहमा उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेल, मुख्यमन्त्री योगदी आदित्यनाथ, भारतका केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव, उत्तर प्रदेशका उपमुख्यमन्त्रीद्वय केशवप्रसाद मौर्य र ब्रजेश पाठकलगायतका व्यक्तिहरू उपस्थित हुने बताइएको छ।
जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने भनिएको ‘वन्दे भारत’ रेल भारतको उत्कृष्ट रेलमध्ये एक हो।
जनकपुर र अयोध्या दुवै हिन्दू धर्मावलम्बीका महत्वपूर्ण धार्मिक स्थल हुन्। यस रेल सेवाले दुवै धार्मिक गन्तव्यबीच आवतजावत सहज बनाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।



