काठमाडौँ। आज दसैँको मुख्य दिन, विजया दशमी। देश तथा विदेशमा रहेका नेपालीहरुले विजयादशमीको टीका ग्रहण गरी मनाउँदैछन्। आजको दिन मान्यजनहरुबाट टीका, जमरा र शुभआशीर्वाद ग्रहण गर्ने उत्तम समय १० बजेर २६ मिनेटमा रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने साइत बिहान १०ः२६ बजे निर्धारण गरिएको छ। समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा छ।
समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमीका दिन दिनभर टीका लगाउन साइत छ।
समितिका अनुसार टीका लगाइदिने मान्यजन पूर्व र टीका थाप्ने व्यक्ति पश्चिम दिशा फर्केर बस्नु पर्नेछ। दसैंमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गरिन्छ।
यसदिन परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा बसेर मान्यजनबाट आशीर्वाद लिने चलन छ। नेपाली समाजमा कोजाग्रत पूर्णिमासम्म टीका लाउने र आशीर्वाद लिने प्रचलन छ।
नेपाल बाहेक अन्यत्र रहेका नेपालीहरुले पनि आफुलाई पायक पर्ने समयमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।



