काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिकका लागि पुगेको छ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले सोमबार आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण बुझाएका हुन्।
महामन्त्री पौडेलले केन्द्रीय कार्यसमितिको विवरणसँगै पार्टीको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयसमेत आयोगमा बुझाएका छन्।
विवरण बुझाएसँगै गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगको अभिलेखमा अद्यावधिक गर्ने प्रक्रिया अघि बढेको जनाएको छ।
यसअघि विशेष महाधिवेशनबाट नेतृत्वमा आएको थापा नेतृत्वको कांग्रेसलाई आयोगले मान्यता दिएको थियो भने सर्वोच्च अदालतले त्यसलाई वैधानिकता प्रदान गरेको थियो।
त्यसपछि नियमित महाधिवेशनको थप प्रक्रिया अघि बढाएर थापा नेतृत्वको कांग्रेसले १५ औँ महाधिवेशन सम्पन्न गरेको थियो। सो महाधिवेशन पश्चात् आएको कार्यसमितिको विवरणलाई अब आयोगले कागजात हेरेर अगाडिको थप निर्णय लिनेछ।



