आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

राष्ट्रपतिद्वारा दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन

राष्ट्रपतिद्वारा दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन

images
२०८३ कार्तिक १८ गते, बुधवार
२०८३ कार्तिक १८ गते, बुधवार
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार भएको बताएका छन्।

    images

    दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्।

    images

    “सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन नेपाली जनताले गरेको त्याग र बलिदानको उद्देश्य पनि यही नै हो”, उनले भने।

    उनले जनताले राखेको अपेक्षा पूरा गर्नेतर्फ तीनै तहका सरकार गम्भीर हुने विश्वास पनि व्यक्त गरे।

    उनले जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूलाई सार्वजनिक पद र जिम्मेवारीलाई व्यक्तिगत सुविधा वा अधिकारका रूपमा नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिन आग्रह गरे।

    “प्रशासनिक भवन केवल भौतिक संरचना मात्र होइन; यो जनताको सेवा प्राप्त गर्ने विश्वासको केन्द्र, लोकतान्त्रिक शासनव्यवस्थाको स्थानीय आधारस्तम्भ र नागरिकका आकाङ्क्षा सम्बोधन गर्ने सार्वजनिक संस्थाको प्रतीक पनि हो”, राष्ट्रपति पौडेलले भने।

    उनले भवनबाट प्रवाह हुने सेवा छिटो, छरितो, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बन्न सकोस् भन्ने विश्वास व्यक्त गरे।

    प्रशासनिक भवन आधुनिक हुनुका साथसाथै प्रशासनिक कार्यशैली पनि आधुनिक, प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी हुन आवश्यक रहेको उनको भनाइ थियो।

    “सूचना प्रविधिको अधिकतम प्रयोग, अभिलेख व्यवस्थापन, डिजिटल सेवा र गुनासो सुनुवाइ प्रणालीलाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो”, राष्ट्रपति पौडेलले भने। 

    दक्षिणकालीलाई धार्मिक पर्यटनसँगै प्रकृति, संस्कृति र स्थानीय उत्पादनमा आधारित पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेकाले यसतर्फ ध्यान दिन उनले आग्रह गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend