काठमाडौँ। महानगर प्रहरी बलले काठमाडौँका विभिन्न ठाउँबाट प्लाष्टिकजन्य ३३६ वटा माला र १४० वटा पुष्पगुच्छा जफत गरेको छ।
काठमाडौँ महानगर प्रहरी बल र महानगरपालिकाकै वातावरण व्यवस्थापन विभागले छुट्टाछुट्टै सार्वजनिक सूचना प्रकाशन गरेर यस्ता वस्तु विक्रीका लागि निषेध गरेका थिए। उक्त सूचनालाई वेवास्ता गर्दै प्लाष्टिकजन्य फूल, माला, पुष्पगुच्छा तथा सजावटका सामान बिक्री गर्ने व्यापारीबाट यी बस्तु जफत गरिएका हुन्।
यसरी सामान बेच्ने व्यापारीहरु चावहिल मैजुबहाल, मच्छिन्द्रबहाल, कोटेश्वर, कोटेश्वर पानीपुरी चोक, जयबागेश्वरी, कालीमाटी, नयाँ बसपार्क, धुम्बाराहीलगायत स्थान छन्। जफत गरिएका सामानमध्ये सबैभन्दा धेरै कोटेश्वर र कोटेश्वर पानीपुरी चोकमा बिक्री भइरहेका सामान छन्।
महानगर प्रहरी बलले नगर प्रहरीको सेवालाई नागरिकका नजिक पुर्याउने उद्देश्यले महानगरको भूगोललाई ४ क्षेत्रमा विभाजन गरेर क्षेत्रगत कमाण्डर र विभिन्न दर्जाका प्रहरी खटाएर बजारको नियमित निगरानी र अनुगमन गरिरहेको छ।
यसअन्तर्गत पूर्व क्षेत्र, पश्चिम क्षेत्र, उत्तर क्षेत्र र मध्य क्षेत्रबाट खटिएका टोलीले सहरका विभिन्न स्थानबाट अनधिकृत रुपमा बेच्न राखिएका फूल माला जफत गरेका हुन्।
महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्रका ३३ वटा स्थानमा स्वदेशी फूल बिक्रीका लागि स्थान तोकेको छ। यसरी तोकिएका स्थानमा विक्री सहजीकरणका लागि सम्पर्क नम्बर सार्वजनिक गरिएको छ।
तोकिएका सार्वजनिक ठाउँमा किसानहरुलाई सहजीकरण गर्न महानगर प्रहरी बलका फोन नम्बरहरु दिइएको छ। महानगर प्रहरी बलसँग सम्पर्क गर्न ०१–५९०१७६३, ०१–५९०१७६४ मा र मोवाइल नम्बर ९८५१३५६५०९ मा सम्पर्क गरेर सहयोग लिन सकिने प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए। प्रहरी बलले स्वदेशी फूल बिक्रीका लागि भने सहजीकरण गरिरहेको छ।
नेपालमा अहिले पनि पुष्प तथा पुष्पजन्य वस्तुको आयातको आकार ठुलो छ। नेपालमा भारत, नेदरल्याण्ड्स, चीन, जापान, जर्मनी, केन्या, थाइल्याण्ड, भियतनाम, अमेरिका, इजिप्ट, युगान्डा, बेल्जियम, इटाली, यूएई, ताइवान र इजरायललगायत देशबाट फूल तथा पुष्पजन्य वस्तु आयात हुने गरेका छन्। आयात हुने वस्तुमा विभिन्न प्रजातिका बिरुवा, बीउबिजन, फ्रेस कट फ्लावर, बल्ब, ट्युबर तथा ट्युबर रुट्स रहेका छन्।



