काठमाडौँ। पृथ्वी राजमार्गको मलेखु-मुग्लिङ सडक खण्ड अन्तर्गत घोप्टेभीरमा खसेको पहिरो हटाउन अझै तीन घण्टा लाग्ने भएको छ।
सो स्थानमा आज बिहान ठूलो सुख्खा पहिरो झरेकाले सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। उक्त पहिरो हटाउनका निम्ति हाल ३ वटा मेसिन उपकरण परिचालित भएका छन् भने थप २ वटा मेसिन परिचालित हुने अवस्थामा छ।
थप पहिरो नआएको खण्डमा अबको करिब ३ घण्टा भित्र उक्त पहिरो हटाई यातायात सुचारु गराउने आँकलन गरिएको नागढुंगा मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ।
सो सडकखण्डमा पहिरो खसेपछि हेटौंडा-कुलेखानी सडकखण्डमा आज सवारीसाधनको चाप बढेको छ।



