काठमाडौँ। काठमाडौँबाट बल्खु-दक्षिणकाली हुँदै हेटौंडा चल्ने यात्रुबाहक भाडाका तथा सार्वजनिक सवारी साधनलाई रातको समयमा संचालनमा रोक लगाइएको छ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार एक सूचना जारी गर्दै उक्त सडकमा बेलुका८ बजे अघि र बिहान ५ बजेपछि मात्र यात्रुबाहक भाडाका तथा सार्वजनिक सवारी साधन संचालन गर्न पाइने जनाएको हो।
उक्त सडक खण्डमा पछिल्लो समय दुर्घटना बढ्दै गएको, मानवीय क्षतीसमेत बढेको र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै सो निर्णय गरिएको सूचनामा उल्लेख छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलल जारी गरेको सुचनामा बल्खु-दक्षिणकाली हुँदै हेटौंडा जाने सार्वजनिक यात्रुबाहक सवारी साधन बेलुका ८ बजेसम्ममा प्रहरी चेकपोष्ट फर्पिङ पुगिसकेको हुनुपर्ने उल्लेख छ।
यसैगरी विहान ५ बजेपछि मात्र उक्त रुटमा यात्रुबाहक भाडाका एवम् सार्वजनिक सवारी साधन संचालन गर्न पाइने भनिएको छ।
यसरी यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारीसाधन चलाउँदा सवारीसाधनको अवस्था चेकजाँच गरेर मात्र चलाउन सूचनामार्फत निर्देशन दिइएको छ भने काठमाडौँ जिल्ला भित्रका उक्त रुटमा पर्ने प्रहरी युनिटहरुले (ट्राफिक प्रहरीसमेत) कडाइका साथ प्रत्येक सवारीसाधनको अनिवार्य रुपमा चेकजाँच गर्ने ब्यवस्था मिलाउन निर्देशन दिइएको छ।
साँघुरा सडक, यान्त्रिक अवस्था ठिक नरहेका सवारीसाधनको प्रयोग, सवारीसाधनको लापरबाही, तीव्र गति, भिरालो र घुम्तीयुक्त सडक, रातको समयमा अध्यारो सडकमा यात्रा गर्दा सर्वसाधारण यात्रुहरू एवम् सवारी चालक र सवारीसाधनको समेत जोखिम उच्च रहेको सूचनामा भनिएको छ।
यस्तै तीव्र प्रतिष्पर्धाका कारण पटके ट्रीप एकै पटकमा गर्ने गरि चालकहरूले भोग्ने अत्यधिक तनाबको अवस्था एवम् अनिद्रा जस्ता कारणहरुबाट बारम्बार गम्भीर खालका दुर्घटना उक्त दोहोरिएको सूचनामा उल्लेख छ।



