मुगु। मुगुको रारा ताल जाने क्रममा जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।
आइतबार मुगुको छायानाथ रारा नगरपालिका–७, टोप्लास्थित ताल्चा–रारा सडक खण्डमा बा १७ च १८६४ नम्बरको हाइलक्स जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। सो दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका थिए।
दुर्घटनामा घाइते भएका ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय गाडी चालक कञ्चन थापा र उनकी श्रीमती अन्जु थापालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाले जानकारी दिए।
डीएसपी थपलियाका अनुसार घाइते दुवै जनालाई सुर्खेतबाट थप उपचारका लागि ललितपुरस्थित बी एन्ड बी अस्पताल ल्याइएको हो। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा काठमाडौं कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको थियो। उनीहरू रारा ताल घुम्नका जाँदै थिए।



