काठमाडौं। नेपाल रेडक्रस सोसाइटी सल्यान जिल्ला शाखाले जिल्लाभरी स्क्रब टाइफस रोगविरुद्धको सचेतना अभियान सञ्चालन गरेको छ।
देशभरका ७४ भन्दा बढी जिल्लामा स्क्रब टाइफसको संक्रमण फैलिएको र सल्यान सबैभन्दा बढी प्रभावित जिल्लाको रूपमा देखिएपछि शाखाले सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको हो।
अभियानलाई प्रभावकारी बनाउन जिल्ला स्वास्थ्य कार्यालय सल्यानसँगको समन्वयमा स्क्रब टाइफस सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो।
अभिमुखीकरण पश्चात् जिल्ला शाखाले ४० जना स्वयंसेवकहरूलाई कार्यक्षेत्रमा परिचालन गरेको छ।
परिचालित स्वयंसेवकहरू सल्यान जिल्लाभरका घरघरमा पुगेर नागरिकहरूलाई स्क्रब टाइफस रोगका लक्षण तथा यसबाट बच्ने उपायहरूका बारेमा जानकारी गराइरहेका छन्।
साथै, घरदैलो अभियानका क्रममा स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरू भेटिएमा उनीहरूलाई तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गराउन र उपचारका लागि पठाउन समेत स्वयंसेवकहरूले सहजीकरण गरिरहेका छन्।



