आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

`एडिलेड नेपाल फेस्टिभल´मा पहिलोपटक प्रिमियर प्रमुख अतिथि, राज्य सरकारबाट ३० हजार डलर सहयोग

`एडिलेड नेपाल फेस्टिभल´मा पहिलोपटक प्रिमियर प्रमुख अतिथि, राज्य सरकारबाट ३० हजार डलर सहयोग

images
२०८३ कार्तिक १५ गते, आइतवार
२०८३ कार्तिक १५ गते, आइतवार
  • एडिलेड, अस्ट्रेलिया। नेपाली कला, संस्कृति र पहिचानको उत्सवका रूपमा स्थापित नेपाल फेस्टिभल साउथ अस्ट्रेलियाको छैटौँ संस्करण यस वर्ष थप विशेष हुने भएको छ।

    images

    साउथ अस्ट्रेलियाका प्रिमियर पिटर मालिनाउसकस पहिलोपटक महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन् भने राज्य सरकारले आयोजनाका लागि ३० हजार अस्ट्रेलियन डलर सहयोग उपलब्ध गराएको छ।

    images

    आगामी नोभेम्बर २८ मा एडिलेडस्थित टोरेन्स परेड ग्राउन्डमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। नेपाली भाषा, कला, संस्कृति, परम्परा र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो।

    एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक थिर गुरुङले प्रिमियरको सहभागिता नेपाली समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताए।

    कार्यक्रममा बहुसांस्कृतिक मामिलामन्त्री नादिया क्लान्सीसहित स्थानीय सरकारका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहने उनले जानकारी दिए।

    गुरुङका अनुसार, राज्य सरकारको बहुसांस्कृतिक अनुदान कार्यक्रमअन्तर्गत प्राप्त ३० हजार डलरसहित महोत्सव सञ्चालन तथा व्यवस्थापनमा एक लाख ७० हजार डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। तयारी करिब ९० प्रतिशत पूरा भएको र १५ हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।

    रचना रिमालको विशेष प्रस्तुति

    यस वर्षको महोत्सवमा नेपाली राष्ट्रिय कलाकार रचना रिमालको विशेष सांगीतिक प्रस्तुति रहनेछ। अन्य कलाकारहरूको नामावली पनि चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

    महोत्सवलाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन २० वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ।

    एनआरएनए साउथ अस्ट्रेलियाका उपसंयोजक तथा महोत्सवका कार्यक्रम संयोजक गणेश पराजुलीका अनुसार कार्यक्रम व्यवस्थापन, स्वयंसेवक परिचालन, सुरक्षा र मञ्च व्यवस्थापनलगायतका कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

    उनले महोत्सव सफल बनाउन विभिन्न संघसंस्था, व्यवसायी, प्रायोजक र समुदायका सदस्यहरूको सहकार्य महत्त्वपूर्ण रहेको बताए।

    नयाँ पुस्तालाई नेपाली संस्कृतिसँग जोड्ने अवसर

    नेपाल फेस्टिभल नेपाली मूलका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्ने तथा अस्ट्रेलियाली र अन्य अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको मौलिक पहिचान प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ।

    आयोजकले साउथ अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदाय, विभिन्न संघसंस्था, व्यवसायी तथा नेपाली संस्कृतिप्रति चासो राख्ने सबैलाई नोभेम्बर २८ मा टोरेन्स परेड ग्राउन्डमा उपस्थित भई महोत्सव सफल बनाउन आग्रह गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend