आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

पुरुष डाक्टरले महिला बिरामीको उपचार गर्न नपाउने

पुरुष डाक्टरले महिला बिरामीको उपचार गर्न नपाउने

images
२०८३ कार्तिक २७ गते, शुक्रवार
२०८३ कार्तिक २७ गते, शुक्रवार
  • काठमाडौँ। अफगानिस्तानमा तालिबानले पुरुष चिकित्सकले महिला बिरामीको उपचार गर्न नपाइने गरेर अनौपचारिक प्रतिबन्ध लगाएको छ।

    images

    तालिबानले महिलामाथि लगाएको प्रतिबन्धलाई थप कडा बनाउन अनौपचारिक रुपमा गरेको यो प्रतिबन्ध अनुसार पुरुष चिकित्सक र दन्त चिकित्सकले महिला बिरामीको उपचार गर्न पाउने छैनन्।

    images

    तर आकस्मिक उपचारका हकमा भने महिलासँग पुरुष अभिभावक (महरम) अनिवार्य हुनुपर्ने नियम लागू गरिएको छ। तालिबानको यो प्रतिबन्धले अफगानी महिलाका लागि आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्नसमेत कठिन हुने अवस्था बनेको छ।

    द गार्जियन र जान टाइम्सको संयुक्त प्रतिवेदनअनुसार, पुरुष चिकित्सकले महिलाको उपचार गर्न नपाउने अघोषित प्रतिबन्धका कारण धेरै महिला उपचारबाट वञ्चित भएका छन्। तालिबानले औपचारिक घोषणा नगरे पनि अस्पताल र निजी क्लिनिकहरूमा यस्तो नियम कार्यान्वयनमा आइसकेको छ।

    यसको प्रत्यक्ष मारमा हेरात सहरकी ३७ वर्षीया फरीदा (परिवर्तित नाम) परेकी छन्। यसै वर्ष इरानबाट फर्किएकी उनको परिवार आर्थिक समस्यासँग जुधिरहेको छ। दाँतमा असह्य पीडा भएपछि उनी जुलाईको सुरुवातमा एक दन्त क्लिनिक पुगेकी थिइन्। चिकित्सकले नक्कली दाँत प्रत्यारोपण गर्न सुझाव दिएपछि उनले उपचारको सम्पूर्ण रकम अग्रिम भुक्तानी गरेकी थिइन्।

    तर तेस्रो चरणको उपचार अन्तर्गत प्रत्यारोपण गर्ने समयमा उनलाई उपचार गर्न नसकिने भन्दै घर फर्काइयो। दुई दिनपछि क्लिनिकले पुरुष दन्त चिकित्सकले अब महिलाको उपचार गर्न नपाउने जानकारी दियो। त्यसयता तीन महिना बितिसक्दा पनि उनको उपचार पूरा हुन सकेको छैन।

    महिलामाथिका प्रतिबन्ध स्वास्थ्य सेवामा मात्र सीमित छैनन्। उत्तरी बल्ख प्रान्तका अधिकारीहरूले गत मे महिनामा सरकारी तथा निजी अस्पताललाई महिला बिरामीलाई उनीहरूको वास्तविक नामबाट नबोलाउन निर्देशन दिएका थिए। चिकित्सकले दिने औषधिको पुर्जामा समेत महिलाको नामको सट्टा ‘श्रीमती’ लेख्न भनिएको छ।

    कुनार प्रान्तकी रहीमा (परिवर्तित नाम)ले पनि आफ्नी वृद्ध आफन्तलाई उपचार गराउन निकै कठिनाइ भएको बताएकी छन्।

    छापा र जेलको त्रास

    तालिबानका सुरक्षा बलले स्वास्थ्य क्लिनिकहरूमा छापा मार्न थालेका छन्। क्लिनिकमा महिला बिरामी भेटिए पुरुष चिकित्सकलाई जेल हाल्ने चेतावनी दिइएको छ। एक शल्यचिकित्सकका अनुसार, पुरुष अभिभावक अर्थात् महरमबिना महिला बिरामीको उपचार नगर्न आफूहरूलाई निर्देशन दिइएको छ।

    गत फेब्रुअरीमा तालिबानका सञ्चारमन्त्री हमदुल्लाह नोमानीले उपचार गर्ने क्रममा पुरुष चिकित्सकलाई नै महिलाको महरम मानिने दाबी गरेका थिए। तर व्यवहारमा भने त्यसको ठिक विपरीत नियम लागू भइरहेको छ।

    पूर्वी सहर जलालाबादस्थित एक दन्त क्लिनिकमा सहायकका रूपमा काम गर्ने नरगिस (परिवर्तित नाम) का अनुसार, केही चिकित्सकले महिला बिरामीको उपचार गर्दा क्लिनिकबाहिर एक व्यक्तिलाई निगरानीका लागि राख्ने गरेका छन्। उनका चिकित्सकले त तालिबान अधिकारी छापा मार्न आए बुर्का लगाएर उम्किन सकियोस् भन्दै कार्यालयमा एउटा अफगानी बुर्का (चादरी) राख्नुपर्ने ठट्टासमेत गर्ने गरेका छन्।

    महिला चिकित्सकको अभावले थप समस्या

    महिला स्वास्थ्यकर्मीको अभावले पनि अफगान महिलाको स्वास्थ्य सेवा पहुँच थप कमजोर बनेको छ। सन् २०२४ डिसेम्बरदेखि महिलालाई चिकित्सा शिक्षासम्बन्धी संस्थामा अध्ययन गर्न र अस्पतालमा महिला कर्मचारीका रूपमा भर्ना हुन रोक लगाइएपछि महिला चिकित्सकको संख्या घटेको छ।

    हाल कार्यरत सीमित महिला चिकित्सकले समेत पुरुष अभिभावक साथमा राख्नुपर्ने बाध्यता छ। एक महिला बिरामीले आफ्ना बुबासँगै क्लिनिक पुग्दासमेत पुरुष चिकित्सकले महिला बिरामीलाई छुन नपाउने नियमका कारण घण्टौँ कुर्नुपरेको बताएकी छन्।

    उपचारबाट वञ्चित हुने जोखिम

    तालिबानका प्रतिबन्धका कारण अफगान महिलासँग अहिले उपचारका सीमित विकल्प मात्र बाँकी छन्। उनीहरूले आफ्नो र चिकित्सकको जोखिम मोलेर लुकीछिपी उपचार गराउनुपर्ने, पर्याप्त तालिम नलिएका महिला स्वास्थ्यकर्मीबाट उपचार लिनुपर्ने वा रोग पालेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ।

    यसरी महिला चिकित्सकको उत्पादन र नियुक्तिमा रोक लगाउनुका साथै पुरुष चिकित्सकबाट उपचार लिनसमेत अवरोध सिर्जना हुँदा अफगानिस्तानमा महिलाको आधारभूत स्वास्थ्य अधिकार नै गम्भीर संकटमा परेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend