अस्ट्रेलिया। अस्ट्रेलियाको वोलोङगोङस्थित इलावारा क्षेत्रमा नेपाली समुदायको सक्रिय सहभागितामा तिहार विशेष देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
वोलोङगोङ इलावारा नेपालीज कम्युनिटी (WINC) को आयोजनामा भएको कार्यक्रममा इलावारा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
नेपाली भाषा, कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले देउसी-भैलो कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा नेपाली लोकगीत, दोहोरी तथा आधुनिक लाइभ म्युजिकका प्रस्तुतिले सहभागीलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो। नेपाली गीतसंगीतमा रमाउँदै सहभागीहरू नाचगानमा सहभागी भएका थिए भने एकआपसमा तिहारको शुभकामना आदानप्रदान गर्दै आत्मीयता र सद्भाव साटासाट गरेका थिए।

कार्यक्रममा MCCI का प्रमुख कार्यकारी अधिकृत (CEO) क्रिस (Chris) को विशेष उपस्थिति रहेको थियो। उनले इलावारा क्षेत्रमा नेपाली समुदायको जनसंख्या निरन्तर बढिरहेको उल्लेख गर्दै नेपाल र नेपाली समुदायसँग सहकार्य गरेर अगाडि बढ्न आफूहरू प्रतिबद्ध रहेको बताए। नेपाली समुदायको विकास र हितका लागि आवश्यक सहयोग तथा सहकार्य गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय अगुवा, समाजसेवी तथा विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।
WINC का अध्यक्ष सञ्जीव अमगाईंले प्रवासमा रहेर पनि आफ्नो भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण गर्नु सबै नेपालीको साझा दायित्व भएको बताए। यस्ता सांस्कृतिक कार्यक्रमले नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचारालाई थप मजबुत बनाउनुका साथै नयाँ पुस्तालाई नेपाली कला, संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
कार्यक्रमले विदेशमा रहेर पनि नेपाली चाडपर्व, कला र संस्कृतिलाई जीवन्त राख्न सकिन्छ भन्ने सन्देश दिएको आयोजकले जनाएको छ। WINC ले आगामी दिनमा पनि नेपाली भाषा, कला, संस्कृति र सामुदायिक एकताको प्रवर्द्धनका लागि विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



