आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

अस्ट्रेलियामा २२ वर्षीय नेपाली युवा सडकमा अलपत्र, दुर्व्यसनबाट बाहिर निकाल्न एनआरएनएको पहल

अस्ट्रेलियामा २२ वर्षीय नेपाली युवा सडकमा अलपत्र, दुर्व्यसनबाट बाहिर निकाल्न एनआरएनएको पहल

images
२०८३ कार्तिक २८ गते, शनिवार
२०८३ कार्तिक २८ गते, शनिवार
  • अस्ट्रेलिया। अस्ट्रेलियामा सुन्दर भविष्यको सपना बोकेर आएका एक २२ वर्षीय नेपाली युवा गलत सङ्गत र लागुऔषध दुर्व्यसनका कारण घरबारविहीन भएर सडकमा पुग्नुपरेको छ।

    images

    परिवारबाट टाढा, असहाय अवस्थामा पुगेका ती युवाको जीवनलाई फेरि सही बाटोमा फर्काउने प्रयासमा एनआरएनए अस्ट्रेलियाको एसीटी टोली जुटेको छ।

    images

    घरबाट बाहिरिनुपरेपछि सडकमा अलपत्र परेका ती युवालाई एनआरएनए एसीटीका संयोजक ललित मल्ल र उनको टोलीले फेला पारेको थियो। टोलीका सदस्यहरू सहयोगका लागि पुग्दा उनी सडकमा असहाय अवस्थामा भेटिएका थिए। आफ्नो अवस्था सम्झेर उनी भावुक हुँदै रोएको मल्लले बताएका छन्।

    प्राप्त जानकारीअनुसार साथीभाइको दबाब र गलत सङ्गतका कारण उनी लागुऔषध दुर्व्यसनमा फसेका थिए। घरको सरसफाइ तथा व्यवस्थापन गर्न नसक्ने अवस्था आएपछि उनी घरबाट बाहिरिएका थिए।

    युवाको अवस्थाबारे जानकारी पाएपछि मल्लको टोलीले उनलाई सुरक्षित कोठामा सार्न सहयोग गरेको छ। साथै चिकित्सकसँग सम्पर्क, लागुऔषध तथा मदिरा दुर्व्यसनसम्बन्धी परामर्श, वेलफेयर सेवासँगको समन्वय र कलेज भर्नाका लागि समेत पहल गरेको छ।

    उनको सहयोगका लागि एनआरएनएको वेलफेयर फन्डबाट आर्थिक सहयोग उपलब्ध गराइएको छ भने टोलीका सदस्यहरूले पनि व्यक्तिगत रूपमा रकम योगदान गरेका छन्।

    कलेजमा भर्ना भए पनि उनी अझै दुर्व्यसनबाट पूर्ण रूपमा मुक्त हुन सकेका छैनन्। लागुऔषध प्रयोग गर्ने साथीहरूको सङ्गतबाट टाढिन नसक्दा सामान्य जीवनमा फर्कने उनको प्रयास चुनौतीपूर्ण बनेको छ।

    एनआरएनए एसीटी संयोजक ललित मल्लले ती युवालाई आवश्यक सहयोग उपलब्ध गराउन नेपाली दूतावासलगायत विभिन्न निकाय र सेवाहरूसँग समन्वय भइरहेको बताए।

    युवाका अभिभावकले छोरालाई नेपाल फर्काइदिन आग्रह गरेका छन्। ती युवाले पनि नेपाल गएर आवश्यक प्रक्रिया पूरा गरी पुनः अस्ट्रेलिया फर्कन मिल्ने भिसाको व्यवस्था गर्न सहयोग मागेका छन्।

    मल्लका अनुसार नेपाली समुदायमा पछिल्लो समय लागुऔषध तथा मदिरा दुर्व्यसन, जुवातास, घरेलु हिंसा, आत्महत्याको जोखिम र घरबारविहीनताजस्ता समस्या पनि देखिन थालेका छन्।

    विशेषगरी अध्ययन र उज्ज्वल भविष्यको सपना बोकेर अस्ट्रेलिया आएका केही युवा गलत सङ्गत, साथीभाइको दबाब र दुर्व्यसनका कारण गम्भीर समस्यामा पर्ने गरेका छन्।

    यो घटना एउटा युवाको व्यक्तिगत समस्यामात्र होइन, प्रवासमा नेपाली युवाको मानसिक स्वास्थ्य, सामाजिक सुरक्षा र पारिवारिक सहयोगसँग जोडिएको गम्भीर विषय पनि हो।

    यस्ता परिस्थितिमा परेका युवालाई दोष दिने वा समाजबाट टाढा राख्नेभन्दा समयमै सहयोग, उपचार, परामर्श र पुनःस्थापनाको अवसर दिन आवश्यक छ। परिवार, नेपाली समुदायका संघसंस्था र सम्बन्धित निकायबीच सहकार्य हुन सके धेरै युवालाई पुनः सामान्य जीवनमा फर्काउन सकिन्छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend